सङ्खुवासभा । नेपाली सेनाको सहयोगमा सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डमा अवरुद्ध पहिरो हटाइएपछि सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ। नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडकखण्ड करिब तीन महिनादेखि अवरुद्ध थियो।
गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारीसाधन आवतजावत गर्न नसक्दा उत्तरी सीमावर्ती क्षेत्रको यातायात, सामान ढुवानी र स्थानीय जनजीवन प्रभावित बनेको थियो।
पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। सोहीअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ।
श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) प्रविधिबाट ठूला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि सडक आयोजनाले चट्टान तथा पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।
आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरोमा खसेका विशाल चट्टान सामान्य उपकरणको प्रयोगबाट हटाउन सम्भव नभएपछि विस्फोटक पदार्थ प्रयोग गर्नुपरेको थियो। भौगोलिक अवस्थाका कारण पहिरो हटाउने काम निकै चुनौतीपूर्ण भए पनि नेपाली सेनाको सहयोगले सडक सञ्चालनमा ल्याउन सम्भव भएको उनले बताए।
“भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो,” आयोजना प्रमुख गुरुङले भने।
खाँदबारी–किमाथाङ्का सडकखण्ड सञ्चालनमा आएसँगै उत्तरी सीमावर्ती क्षेत्रका बासिन्दालाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ। चीनसँगको व्यापारिक तथा पारवहन सम्पर्कका दृष्टिले पनि यो सडक महत्त्वपूर्ण मानिन्छ।
खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा रहेको छुम्सुरमा पहिरो खसेपछि सडक सम्पर्क अवरुद्ध भएको थियो। लामो समयसम्म सडक बन्द हुँदा स्थानीय बासिन्दा, व्यवसायी तथा ढुवानी सेवामा निर्भर नागरिकले कठिनाइ भोग्नुपरेको थियो।
खाँदबारी–किमाथाङ्का सडक कोशी प्रदेशको उत्तरी सीमासम्म पहुँच स्थापित गर्ने रणनीतिक महत्त्वको पूर्वाधार हो। वर्षायाममा पहिरो खस्ने र ठूला चट्टान सडकमा खस्ने जोखिमले यस क्षेत्रमा यातायात सञ्चालनलाई चुनौतीपूर्ण बनाउँदै आएको छ। त्यसैले सडक सञ्चालनमा ल्याउनुलाई उत्तरी क्षेत्रको आवागमन र पूर्वाधार सम्पर्कका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
खाँदबारी–किमाथाङ्का सडकको कुल लम्बाइ १६२ किलोमिटर रहेको छ। यसमध्ये भौगोलिक विकटता र कडा चट्टानका कारण निर्माण गर्न कठिन १०.८ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी उक्त सडक निर्माण सम्पन्न गरेको थियो। निर्माण सम्पन्न भएपछि गत वैशाखमा सडक हस्तान्तरण गरिएको थियो।
किमाथाङ्का नाका चीनसँगको उत्तरी सीमामा अवस्थित दुर्गम क्षेत्र हो। किमाथाङ्का–जोगबनी सडकखण्डलाई चीन र भारत जोड्ने छोटो मार्गका रूपमा हेरिन्छ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आउँदा कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दालाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
नेपालका उत्तरी तथा अन्य प्रमुख व्यापारिक नाकामा प्राकृतिक विपद् र सडक अवरोधका कारण आवागमन तथा पारवहन प्रभावित भइरहेका बेला किमाथाङ्का सडक पुनः सञ्चालनमा आउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
सडक आयोजनाका अनुसार अन्य खण्डमा नियमित मर्मतसम्भार गरी यातायात सञ्चालनलाई निरन्तरता दिइएको छ। वर्षायाममा पहिरो तथा चट्टान खस्ने जोखिम कायम रहने भएकाले सडकको नियमित निगरानी र मर्मतसम्भार आवश्यक देखिएको छ।











