१ माघ २०८२, बुधबार
Follow us :

कांग्रेस केन्द्रीय सदस्य नैन सिंह महरद्धारा लिखित बन्छ बन्छ मेरो देश बन्छ बोलको राष्ट्रिय गीत सार्वजनिक 

कान्तिपुर प्रेस

ललितपुर, १८ मंसिर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरद्धारा लिखित बन्छ बन्छ मेरो देश बन्छ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।

ललितपुरमा बुधबार एक कार्यक्रम गरी ओएसआर डिजिटल युट्युव च्यानल मार्फत देशभक्तिपूर्ण उक्त गीतको सार्वजनिक गरिएको छ। गीतमा निराशा र बेथितिले सबैलाई पिरोलिरहेको बेला आशाको सञ्चार गर्न प्रयास गरिएको छ।

उक्त गीतमा शिक्षा मन्त्री महावीर पुन, अभिनेता महानायक राजेश हमाल, माइती नेपालका संस्थाकप अनुराधा कोईराला, गायक प्रमोद खरेल, बरिष्ठ चिकित्सक डा भोला रिजाल, खेलाडी दिपक विष्ट, राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माईला), टिकटकर तथा मोडल मिस पबी, किक्रेट जगत टमटालगायतको अभिनय रहेको छ।

गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माईला)ले आज गीत देशभक्तिपूर्ण र अत्यन्तै सुन्दर गीतको सार्वजनिक भएको छ भन्दै कवि कलाकारहरुले आफ्नो सृजनाको माध्यमबाट देश विकासको भावना दिने बताउनुभयो।

“पछिल्लो समय नेपाली समाजमा गीत संगीत उद्योगको रुपमा विकसित हुँदै गएको छ, देशभक्ति गीतहरु हाम्रो सृजनाको प्राथमिकतामा पर्न नसकिरहेको बेलामा सार्वजनिक गीत अत्यन्तै सुन्दर र कणप्रिय छ, राष्ट्र र समाजलाई गतिशीलता दिन देशभक्तिपूर्ण गीत आवश्यक हुन्छ।” उहाँले भन्नुभयो।

उहाँले दिनमा एक दर्जन सभामा गरेको भाषण भन्दा गीतको माध्यमबाट सृजना गरिएको यो गीतका माध्यमबाट धेरैले सम्झन सक्छन् भन्दै गीतमा देश बन्न सक्ने कुरा स्पष्ट रुपमा व्याख्या गरिएको छ भन्नुभयो।

बरिष्ठ चिकित्सक प्राध्यापक डा भोला रिजालले राजनीतिमा आफ्नो दख्खल र छुट्टै छाप छोड्न सफल व्यक्तित्व नैनसिंह महरलाई साहित्यिक लेखनमा चिनाउन यो गीत अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

“म राजनीतिलाई दोष त दिन्न, हामीले आफ्नो काम नगरेर अरुको काममा असर पुर्‍याउने पद्धतिले देश बन्दैन, राजनीतिमा लागेको व्यक्तिबाट गायनमा यस्तो भावना आउनु सकरात्मक काम हो, भविष्यका सन्ततिले पनि अनुशरण गर्न सक्ने भावना गीतमा रहेको छ।” उहाँले भन्नुभयो।

गीतका लेखक नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले देशलाई चिनाउने सबैका आआफ्नो तरिका छन् भन्दै नयाँ युवा प्रतिभालाई प्रोत्साहन गर्दै आशा जगाउनका लागि पसिना र मेहनतलाई नेपालमा नै उपयोग गर्ने अवस्था सृजना गर्नका लागि यो गीतको सृजना गरिएको बताउनुभयो।

वि.सं. २०४६ सालको परिवर्तनले देश बन्छ भन्ने सन्देश दिएसंगै राजनीतिमा होमिएको जानकारी गराउँदै देशलाई बदल्न आशा जगाउनका लागि गीतले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गीतका माध्यमबाट जनतासंग साक्षात्कार गर्न प्रयास गरेको जानकारी गराउँदै जनताको सक्रिय संग्लग्नता भएको गतिशीलता अर्थव्यवस्था नै देश बिकासको आधार भएको बताउनुभयो।

अग्रज पत्रकार पुरुषोत्तम दाहालले साहित्य र कला मन, मष्तिस्कबाट निस्कने धारणा राख्दै साहित्य र संस्कृतिले राजनीतिलाई चलाउने बताउनुभयो। गीत र साहित्यले पनि देशको विकासमा योगदान पुर्‍याउने भन्दै साहित्य र संस्कृतिका धरोहरहरुलाई गहना भन्दा देशको ढुकढुकीका रुपमा लिइनुपर्छ भन्नुभयो।

गीतकार प्रमोद खरेलले राजनीति र साहित्य फरक बिषय हो भन्दै राजनीतिमा होमिएको व्यक्तिबाट लेखिएका गीतका शब्दहरु ओझिलो छन् भन्नुभयो।—

१९ मंसिर २०८२, बिहीबार १२:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०