६ माघ २०८२, सोमबार
Follow us :

ललितपुरमा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना; क्यान्सर विषयमा कलम चलाउने पत्रकार पुरस्कृत हुने

कान्तिपुर प्रेस

ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।

बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रमका बीच महासंघ ललितपुर र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच अक्षय कोष स्थापना सम्बन्धी सहमति-पत्रमा हस्ताक्षर भएको हो। सहमति-पत्रमा महासंघका तर्फबाट अध्यक्ष रामहरि कार्की र परिवारका तर्फबाट मुक्तिनाथ आचार्यले हस्ताक्षर गर्नुभएको छ।

३ लाखको अक्षय कोष

पुरस्कार स्थापनाका लागि मुक्तिनाथ आचार्यले २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ भने महासंघ ललितपुर शाखाले ५० हजार रुपैयाँ थप गरी कुल ३ लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ। महासंघका सचिव दीपक अर्यालका अनुसार उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट मात्रै प्रत्येक वर्ष महासंघको साधारण सभामा पुरस्कार वितरण गरिनेछ।

क्यान्सर सम्बन्धी लेखनलाई प्राथमिकता

यो पुरस्कार विशेष गरी क्यान्सर रोगका विषयमा कलम चलाउने तथा सो सम्बन्धी अनुसन्धानात्मक लेख लेख्ने पत्रकारलाई प्रदान गरिने महासंघले जनाएको छ। ‘युवा आलोक मासिक’ पत्रिकाका सम्पादक समेत रहेका सम्राट आचार्यको २७ वर्षको उमेरमा गत पुस १६ गते क्यान्सरकै कारण निधन भएको थियो। उहाँकै स्मृति र जन्मोत्सवको अवसर पारेर यो पुरस्कार स्थापना गरिएको हो।

पत्रकारितामा सकारात्मक पहल

कार्यक्रममा बोल्दै अग्रज पत्रकार प्रभुनारायण बस्नेतले यस्ता पुरस्कारले पत्रकारितामा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो। स्वर्गीय आचार्यका पिता मुक्तिनाथ आचार्यले छोराको पत्रकारिताप्रतिको लगावलाई जीवन्त राख्न यो कदम चालिएको बताउनुभयो।

महासंघ ललितपुर शाखाले यसअघि नै ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ सञ्चालन गर्दै आएको छ।

 

१६ पुष २०८२, बुधबार २०:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०