उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा हुने विकास निर्माणका कामहरू जनताको आवश्यकता र राष्ट्रको प्राथमिकताअनुसार हुनुपर्नेमा जोड दिनुभएको छ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसियसन (SIDEN) को दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै सिंहले विकासका संरचना र आयोजनाहरू तय गर्दा नवप्रवर्तन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनु आवश्यक भएको बताउनुभयो।
“२०४६ र २०६२/६३ का परिवर्तनहरू कांग्रेस र कम्युनिस्ट मिलेर सम्भव भए। अब प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गुणस्तरीय निर्माणका लागि अवरोध बनेका कानूनहरू संशोधन गर्न सरकार तत्पर रहेको जनाउनुभयो। उहाँले बुढीगण्डकी जस्ता आयोजनाबाट हजारौं रोजगारी सृजना हुने सम्भावना औंल्याउँदै, नेपालले १५ हजार मेगावाट विद्युत् भारतसँग व्यापार गर्न सक्ने अवस्था आएको जानकारी दिनुभयो।
नेपाल इन्जिनियर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक भएको बताउनुभयो। सम्मेलनले विकास निर्माण क्षेत्रका चुनौतीहरू समाधान गर्न सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
SIDEN का अध्यक्ष इन्जिनियर लक्ष्मण के.सी.ले प्रविधिको विकास अनुसार नीति निर्माणका लागि सम्मेलन आयोजित गरिएको बताए। महासचिव इन्जिनियर थमनबहादुर खड्काका अनुसार SIDEN मा हाल ९,६४६ जना सदस्य छन्, जसमा बागमती प्रदेशबाट मात्र ६,७०० भन्दा बढी सदस्य रहेका छन्।