आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर जिल्ला क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चर्चित सामाजिक अभियन्ता मंगल कृष्ण श्रेष्ठले आफ्नो उम्मेदवारी परित्याग गरी नेपाली कांग्रेसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनलाई समर्थन गर्दै आफ्नो राजनीतिक यात्रा अब कांग्रेसबाट अगाडि बढाउने निर्णय गर्नुभएको हो। उहाँलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गिता सत्यालले पार्टीको सदस्यता प्रदान गरी औपचारिक रूपमा स्वागत गर्नुभयो।
श्रेष्ठ यस क्षेत्रका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ। २०७९ को प्रदेश सभा निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बन्नुभएका उहाँले ५,९५४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो। उहाँको यो निर्णयले ललितपुर क्षेत्र नं. २ को चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने देखिएको छ। अघिल्लो निर्वाचनमा श्रेष्ठले पाएको उल्लेख्य जनमत अब कांग्रेसका उम्मेदवार महर्जनको पक्षमा जाने र कांग्रेसलाई थप बलियो बनाउने राजनीतिक विश्लेषण गरिएको छ। उम्मेदवारी फिर्तासँगै श्रेष्ठले आफू अब लोकतन्त्रको रक्षा र ललितपुरको विकासका लागि कांग्रेसको झण्डामुनि गोलबद्ध भएको बताउनु भएको छ।













