काठमाडौं । नेपाली चलचित्रको ऐतिहासिक विरासत संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले २६औँ वार्षिकोत्सवको अवसरमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ।
‘ओल्ड इज गोल्ड’ शीर्षकमा आयोजना हुने प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि साउन २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डको परिसरमा सञ्चालन हुनेछ। बोर्डका अनुसार प्रदर्शनीमा नेपाली चलचित्र इतिहासमा महत्वपूर्ण स्थान बनाएका १० चलचित्र निःशुल्क प्रदर्शन गरिनेछन्।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित चर्चित चलचित्र ‘आमा’ प्रदर्शन हुनेछ। साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्रीकै निर्देशन रहेको ‘परिवर्तन’ देखाइनेछ।
त्यस्तै, साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन गरिने कार्यक्रम छ।
साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ प्रदर्शन हुनेछ। साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ देखाइनेछ।
प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ प्रदर्शन हुनेछन्।
बोर्डका अनुसार एक दिनमा एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ।
पुराना नेपाली चलचित्रप्रति नयाँ पुस्ताको रुचि बढाउने र चलचित्र इतिहाससँग जोड्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनीले नेपाली सिनेमाको स्वर्णकाल पुनः सम्झाउने अपेक्षा गरिएको छ।











