३ भाद्र २०८३, बुधबार
Follow us :

नाडा अटो शो २०२६ , भदौ ९ देखि : नयाँ गाडी र प्रविधिको महाकुम्भ

कान्तिपुर प्रेस

नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५०औँ वार्षिकोत्सवका अवसरमा यसपटकको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागेको हो। एचपी लुब्रिकेन्ट्स शीर्ष प्रायोजक रहेको प्रदर्शनीमा नेपालमा तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन, प्रविधि र सेवालाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा प्यासेन्जर कार ब्रान्ड, १७ वटा लाइट कमर्शियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, वित्तीय तथा बीमा सेवाका १० प्रदायकसँगै अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स तथा ग्यारेज उपकरणका करिब ७० वटा स्टल रहनेछन्।

नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै स्वदेशमा उत्पादन भएका ल्युब, ब्याट्री, हेल्मेटलगायत सामग्रीलाई पनि प्रदर्शनीमा प्राथमिकता दिइनेछ। अटो शोमा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने कार्यक्रमसँगै स्मार्ट मोबिलिटी, दिगो यातायात विकास र कनेक्टिभिटी सम्बन्धी सिम्पोसियम आयोजना गरिनेछ।

आयोजकका अनुसार प्रदर्शनीलाई दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै जोनमा विभाजन गरिनेछ। यसले आगन्तुकलाई आफूले खोजेको उत्पादन तथा सेवासम्म सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रदर्शनीको टिकट खल्ती एप मार्फत अग्रिम बुकिङ गर्न सकिनेछ। निश्चित अवधिमा टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

अटो शोमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापन सूचना डेस्क, क्याफेटेरिया र पार्किङको व्यवस्था गरिनेछ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङ सुविधा उपलब्ध गराउने तयारी छ।

त्यस्तै, आकस्मिक स्वास्थ्य टोली, सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगलागी नियन्त्रणका उपकरण तथा ह्वीलचेयरमैत्री संरचनाको व्यवस्था गरिनेछ। नाडाका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य अटोमोबाइल उद्योगका उत्पादक, व्यवसायी, ग्राहक र अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्नु तथा नयाँ प्रविधि र उत्पादनबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनु हो। आयोजकले छ दिनमा करिब दुई लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरेको छ।

२ भाद्र २०८३, मंगलवार ०८:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०