काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले सहिदहरूले देशका लागि पुर्याएको योगदान, उनीहरूले सुरु गरेका कामको अवस्था र अधुरा योजनाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्।
उनले भदौ २३ गते सहिदहरूको नामै तोकेर प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। सहिदका सपना र योगदानको मूल्यांकन गर्दै उनीहरूले सुरु गरेका काममध्ये कति पूरा भए र कति अझै बाँकी छन् भन्ने विषयमा सरकारले लेखाजोखा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।
जेनजी आन्दोलनपछि भ्रष्टाचार कति घट्यो ?
सांसद खतिवडाले नयाँ पुस्ता (जेनजी) ले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनको उपलब्धिबारे पनि सरकारसँग जवाफ मागिन्। भ्रष्टाचार न्यूनीकरणका लागि युवाहरूले ठूलो आन्दोलन गरे पनि त्यसपछि भ्रष्टाचार नियन्त्रणमा कति प्रगति भयो भन्ने प्रश्न उनले उठाइन्।
भ्रष्टाचार अन्त्य गर्ने युवाहरूको चाहना र आन्दोलनको मर्मअनुसार सरकारले ठोस काम गर्न सकेको छ कि छैन भन्ने विषय प्रधानमन्त्रीको सम्बोधनमा स्पष्ट हुनुपर्ने खतिवडाको भनाइ थियो।
उनले सहिदका सपना पूरा गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेका काम र उपलब्धि जनतासामु स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्।












