काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ।
प्रदर्शनीले नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने लक्ष्य राखेको छ। बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवद्र्धन तथा विद्युतीय पूर्वाधार विकासमा प्रदर्शनीले योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ, वायर तथा केबल, कन्डक्टर, स्वीच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स तथा घरेलु विद्युतीय उपकरण, सञ्चार तथा सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री प्रदर्शन गरिनेछन्।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, प्राविधिक, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
प्रदर्शनीका सहयोगी संस्थामा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) रहेका छन्।











