रसुवा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले ११४ जनाको हवाई उद्धार गरेका छन्। बाढीका कारण जोखिममा परेका तथा विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेना र निजी हेलिकप्टर कम्पनीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका हुन्।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ। सेनाले टिमुरे–धुन्चे क्षेत्रबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना तथा त्रिशूलीबाट काठमाडौं तीन जनाको हवाई उद्धार गरेको जनाएको छ।
बाढीका कारण सडक तथा स्थलमार्ग प्रभावित भएपछि उद्धारका लागि हवाई साधन परिचालन गरिएको हो। नदीमा आएको अचानकको बाढीले आसपासका क्षेत्रमा जोखिम बढाएपछि उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको थियो।
निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले पनि उद्धार कार्यमा सक्रियता देखाएका छन्। निजी क्षेत्रबाट कुल २९ जनाको हवाई उद्धार गरिएको छ। कैलाश हेलिकप्टरले रसुवाबाट काठमाडौंस्थित टिचिङ अस्पतालमा पाँच जनालाई ल्याएको छ।
त्यस्तै, सिम्रिक हेलिकप्टरले रसुवाबाट तीन जना तथा अर्को उडानमार्फत रसुवाबाट टिचिङ अस्पतालमा दुई जनाको उद्धार गरेको छ। अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जनालाई उद्धार गरी ल्याएको छ।
प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना तथा रसुवाबाट वीर अस्पतालमा दुई जनाको उद्धार गरेको छ। फिसटेल हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना र एभरेस्ट हेलिकप्टरले दुई जनाको उद्धार गरेको छ।
बाढीपछि जोखिममा परेका नागरिकको उद्धारसँगै घाइते तथा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई उपचारका लागि काठमाडौं ल्याउने कामसमेत गरिएको छ। टिचिङ अस्पताल र वीर अस्पतालमा उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि लगिएको हो।
भोटेकोशी नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा जोखिम बढाएपछि सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन्। नेपाली सेना र निजी हेलिकप्टर कम्पनीको समन्वयमा भएको हवाई उद्धारले स्थलमार्गबाट तत्काल उद्धार गर्न कठिन भएका क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन सहयोग पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई नदी आसपास र जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।











