काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार बाढीपछि विभिन्न जिल्लामा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव भेटिएको छ। धादिङमा ११ महिला, पाँच पुरुष तथा पहिचान नखुलेका दुई जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ।
तनहुँमा तीन पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ। नवलपरासीपूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन्।
त्यस्तै, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हुन सक्ने भएकाले उद्धार तथा उपचार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
बाढीपछि विभिन्न क्षेत्रमा केही प्रहरीसमेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। टिमुरेबाट १० जना, रसुवागढीबाट केही, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना, वेत्रावतीबाट एक जना र हाकुबाट दुई जना प्रहरी सम्पर्कविहीन रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीपूर्वलगायतका क्षेत्रमा मानवीय क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोजी तथा उद्धार कार्य जारी छ।
प्रहरीले बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाइएको जनाएको छ। बाढीका कारण सडक तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेकाले केही क्षेत्रमा उद्धार तथा राहत पुर्याउन कठिनाइ भइरहेको छ।
घटनापछि प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै सुरक्षा निकायले स्थानीयवासीलाई नदी तथा खोलानालाको आसपास नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।











