१० भाद्र २०८३, बुधबार
Follow us :

भोटेकोशी बाढीमा उद्धार अभियान तीव्र, प्रभावित नागरिकको साथमा सरकार छ : प्रधानमन्त्री

भोटेकोशी बाढीमा उद्धार अभियान तीव्र, प्रभावित नागरिकको साथमा सरकार छ : प्रधानमन्त्री

कान्तिपुर प्रेस

काठमाडौं, भदौ १० । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभएको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उहाँले उद्धार, खोजी तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। घाइते तथा बेपत्ता नागरिकको खोजी र उद्धारलाई तीव्र पारिएको उहाँले बताउनुभयो।

बाढीको सूचना प्राप्त भएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको र त्यसपछि राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठकमार्फत उद्धार, खोज तथा राहत कार्य प्रभावकारी बनाउने निर्णय गरिएको प्रधानमन्त्रीको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत रसुवाको टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट प्रभावित नागरिकको उद्धार भइरहेको छ। उद्धार तथा राहतका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। घाइतेको सहज तथा निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य तथा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टर तथा सुरक्षा निकायका चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री परिचालन गरिएको प्रधानमन्त्रीले बताउनुभएको छ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभएको छ।

बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्। ती क्षेत्रमा खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याउने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

बाढीमा बेपत्ता नागरिकको खोजीलाई थप तीव्र पारिने उहाँले बताउनुभएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार तथा खोजी कार्य रातभर निरन्तर सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिनुभएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने उहाँले बताउनुभएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले विपद्को कठिन समयमा प्रभावित नागरिक एक्लो नरहेको बताउँदै राज्य सम्पूर्ण साधन–स्रोतसहित उनीहरूको साथमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत र उद्धार अभियानमा सहयोग गर्नसमेत अपिल गर्नुभएको छ।

 

१० भाद्र २०८३, बुधबार २०:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०