१२ भाद्र २०८३, शुक्रबार
Follow us :

भोटेकोशी बाढीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

उद्धार, राहत र पुनर्निर्माणमा निर्णय हुने

कान्तिपुर प्रेस

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको क्षतिबारे छलफल गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा यही १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत र पुनर्निर्माणका विषयमा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।

बैठकमा बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ। बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत मन्त्रिपरिषद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहे पनि दुर्गम भूगोल, सडक तथा यातायात पूर्वाधारमा भएको क्षतिका कारण राहत सामग्री पुर्‍याउन चुनौती देखिएको छ।

यसअघि सरकारले प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिँदै विभिन्न सरकारी निकाय तथा सुरक्षा संयन्त्र परिचालन गरेको थियो। पछिल्लो अवस्थाको समीक्षा गर्दै तत्कालीन राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकले बाढीबाट भएको क्षतिको मूल्यांकन, राहत व्यवस्थापन तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत र जिम्मेवारीसम्बन्धी महत्वपूर्ण निर्णय गर्न सक्नेछ।

 

१२ भाद्र २०८३, शुक्रबार १२:४६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०