ताप्लेजुङ — अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ। अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ आमनेसामने हुने भएका छन्।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार खेल दिउँसो ३ बजे सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ। खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।
अन्तिम क्वार्टरफाइनलको विजेताले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग सेमिफाइनल खेल्नेछ। यसअघि फिदिम स्पोर्टिङले काठमाडौंको चित्लाङ फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।
यस्तै, पहिलो सेमिफाइनल खेल मंगलबार सिराहाको सलहेस युथ क्लब र भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङबीच हुनेछ। जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ ११ तथा सलहेसले काठमाडौंको सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।
प्रतियोगिताको फाइनल भदौ १९ गते हुनेछ। विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो।
वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा विभिन्न नाममा आयोजना हुँदै आएको ऐतिहासिक फुटबल प्रतियोगिता पछिल्लो चार वर्षदेखि ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ।












