काठमाडौँ, भदौ १६ — भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। सेनाका अनुसार मङ्गलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोलीले समेत खोज तथा उद्धार जारी राखेको छ। चिलिमे हाइड्रोपावरको सुरुङमा टोली करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ। लाङटाङ हाइड्रोपावरको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ को सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको सेनाले जनाएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेल हेड फेला पारेर कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ। सुरुङमा जमेको पानी निकाल्ने कार्यसँगै तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। रक ब्रेकर प्रयोग गरी सुरुङभित्र प्रवेश गर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कामसमेत भइरहेको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि विज्ञसहितको टोली परिचालन गरिएको छ। टोलीले सुरुङ प्रवेश गर्ने द्वार पहिचान गरी एक्स्काभेटरमार्फत खन्ने काम गरिरहेको छ।
बाढीपछि तत्काल गरिएको उद्धारमा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। यसमध्ये अपर त्रिशूली–३ ‘ए’ बाट मात्रै २२१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
नौ हजारभन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी नवलपरासीका प्रभावित क्षेत्रसम्म नौ हजार दुई सयभन्दा बढी सैनिक परिचालन भएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
प्रभावित जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कनसमेत भइरहेको छ।
प्रभावित क्षेत्रमा निःसंक्रमण
बाढी प्रभावित क्षेत्रलाई स्वच्छ र निःसंक्रमित बनाउन विभिन्न स्थानमा निःसंक्रमणको काम पनि भइरहेको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र तथा सुनवल नगरपालिका–४ को मूलपानी सामुदायिक वनमा निःसंक्रमण गरिएको सेनाले जनाएको छ।
अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निःसंक्रमणको काम अघि बढाइने जनाइएको छ।













