काठमाडौं । अमेरिकाले इरानमाथिको सैन्य हमला तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जुलाई अन्तिम सातापछि सोमबार पहिलोपटक इरानमा हमला गरेको अमेरिकाले मंगलबार विभिन्न क्षेत्रमा समेत आक्रमण गरेको बीबीसीले जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी सैनिक र ढुवानी जहाजमाथि इरानले हमला गर्ने प्रयास गरेपछि कारबाही अघि बढाइएको हो।
अमेरिकी हमलापछि इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। तास्निमका अनुसार क्वेसम द्वीपमा पटक–पटक विस्फोटका आवाज सुनिएका थिए। कोनार्क र बन्दर अब्बासमा पनि ठूलो विस्फोटको आवाज सुनिएको समाचारमा उल्लेख छ।
अमेरिकालाई इरानको कडा चेतावनी
इरानी सेनाले अमेरिकी हमलाको कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी सैन्य प्रवक्ता सरदार मोहेबीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई चेतावनी दिँदै ‘अब अमेरिका पछुताउने’ बताएका छन्।
इरानी सेनाले अमेरिकी सेनालाई ‘आतंकवादी’ को संज्ञा दिँदै इरानमाथि जति ठूलो आतंक फैलाइन्छ, अमेरिकाले त्यति नै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ।
ट्रम्पको चेतावनी– ‘ठूलो हमला आउन बाँकी छ’
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझ ठूलो र शक्तिशाली हमला हुन बाँकी रहेको बताएका छन्।
ट्रम्पले हाल गरिएको आक्रमणलाई ‘सानो झट्का’ मात्र भएको दाबी गर्दै ठूलो हमला आउन बाँकी रहेको बताएका हुन्। उनका अनुसार इरानले स्ट्रेट अफ होर्मुजमा समुद्री धराप बिछ्याएर आक्रमणको वातावरण सिर्जना गरेको थियो र अमेरिकाविरुद्ध आठ क्षेप्यास्त्र प्रहार गरेको थियो।
इरानले अमेरिकामाथि थप हमला गरेमा त्यसको परिणाम अझ भीषण हुने चेतावनी पनि ट्रम्पले दिएका छन्। इरानले जवाफी हमलाको तयारी गरेमा उसले अझ ठूलो आक्रमणको सामना गर्नुपर्ने र त्यसपछि ‘इरानको केही पनि नरहने’ उनको चेतावनी छ। अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएसँगै स्ट्रेट अफ होर्मुज क्षेत्रमा समेत तनाव बढेको छ।











