निसान टेक्टनको विश्व बजार यात्रा सुरु, पहिलो ब्याच नेपाल पठाइयो
भारतमा उत्पादन भएको नयाँ एसयूभी नेपालसहित तीन देशमा निर्यात
काठमाडौं । निसानले भारतमा उत्पादन गर्दै आएको नयाँ मिडसाइज एसयूभी टेक्टनको अन्तर्राष्ट्रिय निर्यात सुरु गरेको छ। कम्पनीले सेप्टेम्बर १, २०२६ मा टेक्टनको पहिलो ब्याच दक्षिण अफ्रिका, भुटान र नेपालका लागि पठाएको हो।
निसानले टेक्टनलाई मिडसाइज एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने महत्वपूर्ण मोडलका रूपमा अघि सारेको छ। भारतमा गत जुलाईदेखि बिक्री सुरु भएको टेक्टनले छोटो समयमै बजारमा उल्लेख्य प्रतिक्रिया पाएको कम्पनीको दाबी छ।
भारतमा टेक्टनको बिक्री पछिल्लो समय तीव्र रूपमा बढेको देखिन्छ। निसानले गत महिना भारतीय बजारमा ३ हजार २४६ युनिट टेक्टन बिक्री गरेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशत बढी हो।
तर, टेक्टनको बिक्री बढिरहँदा निसानको समग्र निर्यात भने घटेको छ। कम्पनीको कुल निर्यात अघिल्लो वर्षको ७ हजार ७६९ युनिटबाट २३.७ प्रतिशत घटेर ५ हजार ९२४ युनिटमा सीमित भएको बताइएको छ।
दुई टर्बो पेट्रोल इन्जिनको विकल्प
टेक्टन रेनो डस्टरमा प्रयोग भएको प्लेटफर्ममा आधारित एसयूभी हो। भारतीय बजारमा यो दुईवटा टर्बो पेट्रोल इन्जिन विकल्पमा बिक्री हुँदै आएको छ।
यसमा १.० लिटर ३–सिलिन्डर टर्बो पेट्रोल र १.३ लिटर ४–सिलिन्डर टर्बो पेट्रोल इन्जिन उपलब्ध छन्। ट्रान्समिसनतर्फ ६–स्पिड म्यानुअल, ६–स्पिड डुअल–क्लच अटोमेटिक (DCT) लगायतका विकल्प दिइएको छ।
नेपालमा ५१ लाख २९ हजारबाट बिक्री
नेपालमा निसान टेक्टन सार्वजनिक भइसकेको छ। नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएको टेक्टनको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकिएको छ।
भारतबाट नेपालतर्फ यसको औपचारिक निर्यात सुरु भएसँगै नेपाली बजारमा टेक्टनको उपलब्धता थप सहज हुने अपेक्षा गरिएको छ।
मिडसाइज एसयूभी सेग्मेन्टमा आएको टेक्टनले नेपालमा हुन्डाई क्रेटा, किया सेल्टोस लगायतका मोडलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।












