काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण मकवानपुरमा निरन्तर वर्षा भएपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक १३ र १४ गते दुई दिनका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा शुक्रबार जारी सूचनाअनुसार सम्भावित सवारी दुर्घटना तथा बाढीपहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।
प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण सडक तथा राजमार्ग क्षेत्रमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले उक्त समयमा कान्ति लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई प्रशासनको निर्णय पालना गर्न र जोखिमयुक्त समयमा यात्रा नगर्न आग्रह गरेको छ।












