२९ कार्तिक २०८३, आईतवार
Follow us :

त्रिविको नयाँ भर्ती प्रणालीले तरंग ल्यायो , बिना प्रतिस्पर्धा १३० शिक्षक नियुक्त हुँदै

अनुसन्धान र प्रकाशनलाई प्राथमिकता दिँदै त्रिविले प्राध्यापक नियुक्ति प्रक्रिया अघि बढायो, चार जनाको सिफारिस

कान्तिपुर प्रेस

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धान र शैक्षिक उपलब्धिलाई आधार बनाएर प्राध्यापक नियुक्त गर्ने फास्ट ट्रयाक प्रक्रिया पुनः अघि बढाएको छ । पदाधिकारी नियुक्तिमा भएको ढिलाइ र फास्ट ट्रयाक प्रणालीप्रति उठेको विरोधका कारण रोकिएको प्रक्रिया विश्वविद्यालयमा पदाधिकारीले पूर्णता पाएसँगै अगाडि बढाइएको हो ।

त्रिवि सेवा आयोगका अनुसार अनुसन्धानका आधारमा लिखित परीक्षा नलिई प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कुल १३० पदका लागि २०८२ जेठमा विज्ञापन खुलाइएको थियो । तीमध्ये १०० पदको खर्च त्रिविले र ३० पदको खर्च विश्वविद्यालय अनुदान आयोगले बेहोर्ने व्यवस्था छ ।

सेवा आयोगका कार्यालय प्रमुख विष्णुप्रसाद अर्यालका अनुसार हालसम्म चार जनाको नियुक्तिका लागि सिफारिस भइसकेको छ भने बाँकी उम्मेदवारको मूल्याङ्कन भइरहेको छ । उनका अनुसार फास्ट ट्रयाकबाट हुने नियुक्ति पनि खुला प्रतिस्पर्धाकै आधारमा हुनेछ ।

विदेशमा रहेका नेपाली तथा अन्य योग्य विज्ञलाई स्वदेशको विश्वविद्यालयमा आकर्षित गर्ने उद्देश्यले त्रिविले यो प्रक्रिया अघि बढाएको हो । यस प्रणालीमा लिखित परीक्षा नलिए पनि उम्मेदवारसँग पीएचडी उपाधि, अनुसन्धान अनुभव र प्रतिष्ठित जर्नलमा प्रकाशित शोधपत्र तथा अन्य शैक्षिक कृति हुनुपर्नेछ । अन्तर्वार्तामा विदेशी विशेषज्ञलाई समेत सहभागी गराइने त्रिविले जनाएको छ ।

त्रिविको ‘अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकहरूको नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०८२’ ले नियुक्तिको मूल्याङ्कनका लागि २०० पूर्णाङ्क निर्धारण गरेको छ । यसमा अनुसन्धान तथा कृति प्रकाशनका लागि १५०, शिक्षण सेवाका लागि १०, शोध निर्देशनका लागि २० र अन्तर्वार्ताका लागि २० अङ्क छुट्याइएको छ ।

नियुक्तिका लागि सिफारिस हुन प्राध्यापक पदका उम्मेदवारले कम्तीमा ७० प्रतिशत, सहप्राध्यापकले ६५ प्रतिशत र उपप्राध्यापकले ६० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

त्रिविले यसअघि पनि परीक्षणका रूपमा फास्ट ट्रयाकबाट शिक्षक नियुक्त गरेको थियो । २०७३ असोजमा पाँच जना प्राध्यापक र पाँच जना सहप्राध्यापक नियुक्त गरिएको थियो । त्यसैगरी २०७६ पुसमा पाँच जना प्राध्यापक र २६ जना सहायक प्राध्यापकलाई यही प्रक्रियाबाट नियुक्त गरिएको थियो ।

अनुसन्धानमा आधारित नियुक्ति प्रणालीलाई त्रिविले विदेशमा रहेका नेपाली प्राज्ञ र अनुसन्धानकर्तालाई स्वदेश फर्काउने अवसरका रूपमा लिएको छ । तर, यस्तो नियुक्ति प्रक्रियाको विश्वसनीयता र निष्पक्षता कायम गर्न मूल्याङ्कनका मापदण्ड, छनोट प्रक्रिया र विज्ञहरूको भूमिकामा पारदर्शिता आवश्यक हुनेछ ।

 

२९ कार्तिक २०८३, आईतवार १९:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०