काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हुनेछ । समान ८ अंकसहित काठमाडौं दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन् । दुवै टोलीको लक्ष्य जित निकाल्दै प्लेअफ समीकरणमा आफूलाई सुरक्षित बनाउनु हुनेछ ।
काठमाडौंले पाँच खेलमध्ये चारमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको काठमाडौंले त्यसपछि लगातार चार खेल जितेको छ । उसले कर्णाली याक्सलाई ४ विकेट, विराटनगर किंग्सलाई ९ विकेट, लुम्बिनी लायन्सलाई ३६ रन र चितवन राइनोजलाई १० रनले पराजित गरेको थियो ।
एक खेल कम खेलेको काठमाडौंको नेट रनरेट १.१६८ छ । आजको जितले उसको शीर्ष दुईमा रहने सम्भावना थप बलियो बनाउनेछ ।
यता, दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले ६ खेलबाट चार जित र दुई हारसहित ८ अंक जोडेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भए पनि त्यसपछिका खेलमा चितवनलाई ५ विकेट, कर्णालीलाई ३९ रन र जनकपुरलाई २७ रनले हराउँदै टोलीले लय समातेको छ ।
आजको खेल जित्दै सुदूरपश्चिम प्लेअफको दौडमा आफ्नो स्थिति थप सुरक्षित बनाउन चाहन्छ ।
यसैगरी, आजै बेलुका ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई यो खेल निकै महत्वपूर्ण छ ।
सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले पाँच खेलबाट ५ अंक जोडेको छ । चितवनले विराटनगरलाई ८ रनले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो । वर्षाका कारण लुम्बिनीसँग अंक बाँडेको चितवन तेस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो । त्यसपछि पोखरालाई ३० रनले हराएको चितवन पछिल्लो खेलमा काठमाडौंसँग १० रनले पराजित भयो ।
चितवनका अझै दुई खेल बाँकी छन् । प्लेअफको सम्भावना कायम राख्न टोलीलाई बाँकी दुवै खेलमा जित आवश्यक देखिन्छ ।
अर्कोतर्फ, जनकपुर बोल्ट्सले पाँच खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित भएको जनकपुरले त्यसपछि काठमाडौंलाई ८ विकेट र पोखरालाई ९ रनले हराएको थियो । तर पछिल्ला तीन खेलमा भने टोलीले जित निकाल्न सकेको छैन ।
विराटनगरसँग दुई रन, लुम्बिनीसँग १६ रन र सुदूरपश्चिमसँग २७ रनले पराजित भएपछि जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ । आजको खेल जिते पनि जनकपुरले प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ ।
यसअघि बिहीबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।











