२६ कार्तिक २०८३, बिहीबार
Follow us :

एनपीएलमा आज दुई खेल : विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

विराटनगर र पोखरा दिउँसो साढे १२ बजे तथा कर्णाली र लुम्बिनी साढे ४ बजे आमनेसामने हुने

कान्तिपुर प्रेस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित विराटनगर अंक तालिकाको छैटौँ स्थानमा छ ।

पोखरा भने पाँच खेलमध्ये एक खेलमा मात्र विजयी भएको छ । चार खेलमा पराजित पोखरा दुई अंकसहित अंक तालिकाको पुछारमा रहेको छ । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ ।यसैगरी आजै दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच दोस्रो खेल हुनेछ ।

कर्णालीले पाँच खेलमा दुई जित र तीन हारसहित चार अंक जोडेको छ । समान पाँच खेल खेलेको लुम्बिनीले तीन खेलमा जित र एक खेलमा हार बेहोरेको छ । एक खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

लुम्बिनी सात अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहँदा कर्णाली चार अंकसहित सातौँ स्थानमा छ । आजको खेलमा जित निकाल्दै कर्णाली अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ भने लुम्बिनी आफ्नो बलियो लयलाई निरन्तरता दिने प्रयासमा रहनेछ ।

 

२६ कार्तिक २०८३, बिहीबार ०८:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०