सर्लाही, कात्तिक २५ गते । सर्लाहीको बागमती नगरपालिका–१२, बोटे टोलमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ ।पर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल बुधबार अपराह्न अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका रुपक विश्वकर्मा गम्भीर घाइते भएका थिए । उनी पुतली चोकस्थित दिदीको घरमा बस्दै आएका थिए ।दुर्घटनापछि विश्वकर्मालाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण मोटरसाइकलको तीव्र गति हुन सक्ने देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतक विश्वकर्माको शव पोस्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।











