२२ कार्तिक २०८३, आईतवार
Follow us :

बैंकको सञ्चालन खर्च घट्यो, कार्यालय व्यवस्थापनको खर्च भने बढ्यो

बैंक तथा वित्तीय कम्पनीको सञ्चालन खर्च साढे १८ अर्ब, तलबभत्तामै ११ अर्ब ४७ करोड

कान्तिपुर प्रेस

काठमाडौं । बैंक तथा वित्तीय कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सञ्चालन खर्चमा साढे १८ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १६ वित्त कम्पनीले कर्मचारीको तलबभत्ता तथा कार्यालय व्यवस्थापनमा मात्रै १८ अर्ब ४० करोड ६० लाख रुपैयाँ खर्च गरेका हुन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कर्मचारीको तलब तथा भत्तामा ११ अर्ब ४७ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन्। त्यस्तै, कार्यालय व्यवस्थापनका लागि ६ अर्ब ९२ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर्मचारीको तलब तथा भत्तामा ११ अर्ब ६५ करोड ५० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ७ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्च भएको थियो। यसअनुसार चालु आवको भदौसम्म कर्मचारी खर्च १७ करोड ७० लाख र कार्यालय व्यवस्थापन खर्च ११ करोड ४० लाख रुपैयाँले घटेको छ।

क्षेत्रगत रूपमा हेर्दा सञ्चालन खर्चमा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो छ। चालु आवको भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा १० अर्ब ७ करोड ७० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ५ अर्ब ९६ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कर्मचारी खर्च १० अर्ब १० करोड ७० लाख र कार्यालय व्यवस्थापन खर्च ५ अर्ब ६७ करोड १० लाख रुपैयाँ थियो। यसपटक कर्मचारी खर्च तीन करोड रुपैयाँले घटे पनि कार्यालय व्यवस्थापन खर्च २९ करोड ८० लाख रुपैयाँले बढेको छ।

त्यस्तै, विकास बैंकहरूले चालु आवको भदौसम्म कर्मचारीको तलब तथा भत्तामा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ७७ करोड १० लाख रुपैयाँ खर्च गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरूको कर्मचारी खर्च १ अर्ब २२ करोड ७० लाख र कार्यालय व्यवस्थापन खर्च ७५ करोड ८० लाख रुपैयाँ थियो। यसअनुसार विकास बैंकहरूको कर्मचारी खर्च १० करोड ४० लाख रुपैयाँले घटेको छ भने कार्यालय व्यवस्थापन खर्च १ करोड ३० लाख रुपैयाँले बढेको छ।

वित्त कम्पनीहरूको कर्मचारी तथा कार्यालय व्यवस्थापन खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ। चालु आवको भदौसम्म वित्त कम्पनीहरूले कर्मचारीको तलब तथा भत्तामा २७ करोड ८० लाख र कार्यालय व्यवस्थापनमा १८ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा वित्त कम्पनीहरूको कर्मचारी खर्च ३२ करोड १० लाख र कार्यालय व्यवस्थापन खर्च ६१ करोड ३० लाख रुपैयाँ थियो। यसअनुसार कर्मचारी खर्च ४ करोड ३० लाख र कार्यालय व्यवस्थापन खर्च ४२ करोड ६० लाख रुपैयाँले घटेको छ।

 

२२ कार्तिक २०८३, आईतवार १४:०७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०