२२ कार्तिक २०८३, आईतवार
Follow us :

भ्रम र घेराबन्दीबाट विचलित हुँदैनौँ : सभापति थापा

१५औँ महाधिवेशन सफल बनाउन योगदान गर्ने सबैप्रति आभार, भ्रम र दुष्प्रचारबाट विचलित नहुने भनाइ

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नयाँ आत्मविश्वासका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले पार्टीभित्रको एकता बलियो बनाउँदै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुने बताएका हुन्।

१५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै थापाले महाधिवेशनमा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष र साहसका आधारमा चुनौती पार गर्दै आएको उनको भनाइ छ।

अहिले पनि पार्टीसामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयासबाट कांग्रेस विचलित नहुने स्पष्ट पारेका छन्। सत्य, निष्ठा र एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्ने उनले बताएका छन्।

उनका अनुसार अब पार्टीको साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुनेछ। पार्टी संगठन सुदृढीकरण, नागरिकको विश्वास आर्जन र देशको उज्ज्वल भविष्य निर्माणमा सम्पूर्ण ऊर्जा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

यसैबीच, उनले पार्टीका आधिकारिक सूचना तथा आफूसँगको प्रत्यक्ष सम्पर्क अब ‘NCongress Alert’ मार्फत हुने जानकारी दिएका छन्। पार्टीका आधिकारिक सूचना, धारणा तथा गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू फलो गर्न पनि उनले आग्रह गरेका छन्।

 

२२ कार्तिक २०८३, आईतवार १३:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०