२२ कार्तिक २०८३, आईतवार
Follow us :

बचत र सुरक्षासँगै थप लाभ, आईएमई लाइफले ल्यायो नयाँ बीमा योजना

बीमितलाई बीमाङ्क रकमसँगै बोनस र लोयल्टी बोनसको सुविधा, १८ देखि ६० वर्ष उमेर समूहले खरिद गर्न सक्ने

कान्तिपुर प्रेस

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको अवसर पारेर नयाँ ‘आईएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले कात्तिक २२ गते लोयल्टी बोनससहितको नयाँ बीमा योजना बजारमा ल्याएको हो।

बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने उद्देश्यले ल्याइएको यस योजनाले बीमालेखको निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत बीमा अवधि समाप्त हुँदासम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा भने नियमानुसार बीमाङ्क रकम, बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ।

यस योजनाका प्रमुख विशेषतामा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनस, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुनअनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन्।

यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन्। बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्चजस्ता थप सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए। बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न योजनाले सहयोग पुर्‍याउने उनको विश्वास छ।

कम्पनीले यस योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ।

थप जानकारीका लागि नजिकैको आईएमई लाइफ शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

 

२२ कार्तिक २०८३, आईतवार १३:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०