२७ कार्तिक २०८३, शुक्रबार
Follow us :

गुडिरहेको मोटरसाइकलमाथि जंगली हात्तीको आक्रमण, चालक गम्भीर घाइते

झापाको बुद्धशान्तिमा बिहानै हात्तीको आक्रमण, ५६ वर्षीय डिल्लीबहादुर पौडेल अस्पताल भर्ना

कान्तिपुर प्रेस

झापा, कात्तिक २७ गते । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा जंगली हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा चालक गम्भीर घाइते भएका छन् ।शुक्रबार बिहान करिब ५ः१० बजे बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई जंगली हात्तीले आक्रमण गरेको हो । बुद्धशान्ति–२ स्थित बिहानी टोलको भित्री सडकमा गुडिरहेको मोटरसाइकलमाथि नजिकैको तीन तले सामुदायिक वनबाट आएको हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट मोटरसाइकल चालक स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन् । उनको छातीमा चोट लागेको छ । घाइते पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार घाइते पौडेल बोल्न सक्ने अवस्थामा छन् । मोटरसाइकलमाथि आक्रमण गरेपछि हात्ती पुनः जंगलतर्फ गएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीको आवतजावत हुने क्षेत्रमा बिहान तथा साँझको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

 

२७ कार्तिक २०८३, शुक्रबार ०९:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०