कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।शुक्रबार अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकाल्यो। पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाए पनि एमबाप्पे त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए।
खेलको ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि (६६औँ मिनेटमा) उनले दिएको उत्कृष्ट पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स २–० को विजयी बन्यो।
यससँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो।अब फ्रान्सले फाइनल प्रवेशका लागि बेल्जियम र स्पेनबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।











