काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। नवरात्रको अन्तिम दिनका रूपमा मनाइने महानवमीमा दुर्गा भवानीको पूजा, कन्या पूजा तथा विभिन्न शक्तिपीठमा दर्शन गर्ने परम्परा छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा चढाइन्छ। घरघरका दशैँघर, कोत तथा राज्यका विभिन्न देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ। यस दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने धार्मिक परम्परा पनि रहेको छ।
परम्पराअनुसार कतिपय स्थानमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिने चलन छ। पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल अर्पण गरी पूजा गर्ने गर्छन्।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष धार्मिक महत्त्वका साथ लिइन्छ। नवरात्रको यस दिन नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ। साथै, कन्यालाई देवीको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने प्रचलन पनि छ।
महानवमीका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिनुका साथै विभिन्न कोतमा कोतपूजा र निशानापूजा गरिन्छ। हनुमानढोका दरबार तथा नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने परम्परा रहेको छ।
महानवमीका दिन देशभरका शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ। यस पर्वले धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्वलाई उजागर गर्दछ।











