म्याग्दी, कात्तिक २ । सुख्खा पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत फापरखेत खण्डको विकल्पमा वैकल्पिक सडक सञ्चालनमा आएको छ। वैकल्पिक मार्ग सञ्चालन भएपछि दसैँ मनाउन गाउँ जाने सर्वसाधारणलाई सहज भएको छ।
बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबार अपराह्नदेखि पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको थियो। पहिरो निरन्तर खसिरहेकाले तत्काल पन्छाउन नसकिएपछि मंगला गाउँपालिकाले पखेर–बरंजा–ज्यामिरे–सातबिसे–बाबियाचौर वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो।
मंगला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीका अनुसार बर्खायाममा अवरुद्ध बरंजा–सातबिसे–बाबियाचौर सडकखण्ड मर्मत गरेर आइतबार दिउँसोदेखि मिनिबस, जिप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्याक्टर सञ्चालन गर्न मिल्ने बनाइएको छ।
निरन्तर पहिरो खसिरहेकाले फापरखेत खण्डमा मर्मतको काम सुरु गर्न नसकिएको गिरीले बताउनुभयो। उहाँका अनुसार पखेरबाट सिमलचौर झोलुङ्गे पुल तरेर पैदलयात्रा गर्न सकिने विकल्पसमेत छ। मोटरसाइकल र स्कुटरमा यात्रा गर्नेले पखेरबाट बान्द्रे हुँदै सिम जोड्ने झोलुङ्गे पुल प्रयोग गरेर सिम पुग्न सक्नेछन्।
बेनी–दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो। करिब २४ किलोमिटर लामो यो सडकमा विसं २०६० अघि नै मार्ग खुलेदेखि हरेक वर्षायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र यातायात सेवा अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
पहिरो प्रभावित क्षेत्र र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी गणेश गैरेले स्थलगत निरीक्षण गर्नुभएको थियो। उहाँहरूले यातायात सञ्चालन तथा सडक मर्मतका लागि सहजीकरण गर्नुभएको थियो।
फापरखेतको पहिरोको दीर्घकालीन विकल्पका रूपमा मंगला गाउँपालिका–३ पखेर र वडा नं. २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा पुल निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेशसभा सदस्य जुग्जालीका अनुसार बेलिब्रिज निर्माण गर्दा जोखिम हुने प्राविधिक प्रतिवेदनका आधारमा प्रदेश सरकारले सात करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको छ। ठेक्का आह्वान हुन बाँकी रहेको उक्त पुल ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुलका रूपमा निर्माण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।











