नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्।नवनियुक्त सदस्यहरूमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाल रहेका छन्। पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठित छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कनपछि उनीहरूलाई नियुक्त गरेको हो।
बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० आवेदन परेको थियो। आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा अन्तिम छनोट गरिएको बोर्डले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्द्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउन खुला तथा पारदर्शी प्रक्रियाबाट सदस्य नियुक्त गरिएको हो।











