९ मंसिर २०८३, बुधबार
Follow us :

आईजीपी नियुक्ति विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रहरी संगठनको नेतृत्व संवेदनशील विषय भएकाले मुद्दाको शीघ्र सुनुवाइ

कान्तिपुर प्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट निवेदनमा तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकले माग गरेबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो । सर्वोच्चको आदेशअनुसार डा. मनोजकुमार केसी नेपाल सरकारको २०८३ मङ्सिर १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था छ ।

अदालतले प्रहरी संगठनको नेतृत्व देशको शान्ति तथा सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको उल्लेख गरेको छ । रिट निवेदनमा उठाइएका कानुनी प्रश्न तथा निवेदकले माग गरेको न्यायिक उपचारको विषय अन्तिम सुनुवाइका क्रममा निरुपण हुने प्रकृतिको देखिएको आदेशमा उल्लेख छ । सुविधाको सन्तुलनका दृष्टिले पनि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।

यद्यपि, रिट निवेदनमा उठाइएका विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वोच्चले मुद्दाको शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ ।आदेशअनुसार प्रत्यर्थीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दा पेसीमा चढाउनुपर्नेछ । साथै, पेसी नहट्ने पूर्वसूचनासहित दुवै पक्षलाई जानकारी गराई नियमानुसार सुनुवाइका लागि पेस गर्न भनिएको छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य, दिनमणि पोखरेल, अमर थापालगायतले बहस गरेका थिए । सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कडेलसहित सरकारी वकिलहरूले बहस गरेका थिए । डा. मनोजकुमार केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अन्य अधिवक्ताहरूले बहस गरेका थिए भने प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

 

९ मंसिर २०८३, बुधबार २०:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०