काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षको छुट्टै महाधिवेशनमा सक्रिय रहेका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पद छाड्न चेतावनी दिएका छन्। पार्टीको आधिकारिक संरचनाबाहिर रहेर समानान्तर गतिविधिमा संलग्न हुनेहरूलाई विधानअनुसार कारबाही गर्ने उनको चेतावनी छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको गतिविधिमा संलग्न हुने व्यक्ति पार्टी सदस्य रहन नसक्ने बताएका हुन्।
‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर लडेको छ र चुनाव चिह्न लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन,’ थापाले भने, ‘राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य तथा स्थानीय तहका मेयर, उपमेयरबाट राजीनामा गर्नुहोला। राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, गर्छ।’
उनले एउटै राजनीतिक दलका दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पार्दै देउवा पक्षको गतिविधिलाई अर्को पार्टीको गतिविधिका रूपमा व्याख्या गरेका छन्। कांग्रेसको सदस्यता कायम राख्ने वा अर्को राजनीतिक बाटो रोज्ने भन्ने निर्णय सम्बन्धित नेताहरूले गर्नुपर्ने उनको भनाइ छ।
थापाले आफू असन्तुष्ट नेता तथा कार्यकर्तालाई पार्टीबाट निकाल्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। संवाद र सहमतिमार्फत सबैलाई समेटेर अघि बढ्न तयार रहेको तर पार्टीको विधान र अनुशासनविपरीतका गतिविधि स्वीकार गर्न नसकिने उनले बताएका छन्।
संघ र प्रदेशमा देउवा पक्षका जनप्रतिनिधि कति?
प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसदमध्ये समानुपातिक सांसद हरिना देवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षमा खुलेका छन्। निनु कुमारी कर्ण र रीना उप्रेती भने तटस्थ देखिएका छन्।राष्ट्रिय सभामा कांग्रेसका २४ सांसदमध्ये कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्टलगायत देउवा पक्षमा सक्रिय रहेको विवरण छ। विष्णुदेवी पुडासैनी र चन्द्र केसी भने कुनै पक्षमा खुलेका छैनन्।
प्रदेश सभातर्फ कोशीमा केदार कार्की, भूपेन्द्र राई र रामकुमार खत्रीसहित तीन जना देउवा पक्षमा छन्। बागमतीमा विमल ठकुरी, दीपेन्द्र श्रेष्ठ, श्याम खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चन वादे र मसिना खड्कासहित आठ जना छन्।
गण्डकीमा जीत शेरचन र दीपेन्द्र थापा, लुम्बिनीमा रोज राणा र माया पुन तथा सुदूरपश्चिममा कमलबहादुर शाह, मेघराज खड्का, प्रकाशबहादुर बम, डम्मरी महरा, सरस्वती खड्का, शिवराज भट्ट र मधु भारती देउवा पक्षमा खुलेका छन्। मधेश र कर्णालीमा भने देउवा पक्षको महाधिवेशनमा सक्रिय प्रदेश सांसद नरहेको विवरण छ।
कांग्रेसका नेताहरूका अनुसार स्थानीय तहमा पनि देउवा पक्षको महाधिवेशनमा सक्रिय जनप्रतिनिधिको विवरण संकलन भइरहेको छ।यद्यपि, जनप्रतिनिधिलाई पदमुक्त गर्ने प्रक्रिया सहज छैन। दल त्याग गरेको विषयमा सम्बन्धित व्यक्तिलाई स्पष्टीकरणको अवसर दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टीले कानुनी प्रक्रिया अघि बढाउन सक्छ। त्यसपछि सम्बन्धित संसद् सचिवालय वा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। उक्त समूहले सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। यही समानान्तर महाधिवेशनको तयारीले कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ।










