साउन महिना वर्षायाम भएकाले चलचित्र हलमा दर्शकको उपस्थिति सामान्यतया कम हुने मानिन्छ। तर यसपटक भने निर्माता–निर्देशकहरू मौसमको प्रभावभन्दा पनि प्रदर्शन मितालाई प्राथमिकता दिँदै आफ्ना चलचित्र हलमा ल्याउन प्रतिस्पर्धामा देखिएका छन्। एउटै महिनामा चार नेपाली चलचित्र प्रदर्शनमा आउँदा दर्शक विभाजित हुने र त्यसको असर बक्स अफिसमा पर्ने अनुमान गरिएको छ।
डा. कपिल रिजाल निर्देशित ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आइसकेको छ। शिक्षाको अवसरका लागि सङ्घर्षरत एक युवती र वैवाहिक जीवनका चुनौतीलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर र रवीन्द्र झाललगायत कलाकारको अभिनय रहेको छ।
साउन २२ गते भने ‘हली’ र ‘कमला मिस’ एकैसाथ प्रदर्शनमा आउँदै छन्। विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित ‘कमला मिस’ मानसिक द्वन्द्व र मानवीय संवेदनामा केन्द्रित छ। यस चलचित्रमार्फत निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किनुभएको हो। चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सर्राफ क्षेत्री र आरभ दाहाललगायत कलाकारको अभिनय रहेको छ।
यस्तै, ओम प्रतीक निर्देशित ‘हली’ सामाजिक परिवर्तनको सन्देश बोकेको चलचित्र हो। एउटा साधारण हलीको साहस, इमानदारी र सङ्घर्षले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने कथावस्तुमा आधारित यस चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की र अर्जुन गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘लज्जावती’ को लेखन तथा निर्देशन राजबहादुर सानेले गर्नुभएको हो। चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
एकै महिनामा लगातार चार नेपाली चलचित्र प्रदर्शनमा आउँदा बक्स अफिसमा प्रतिस्पर्धा चर्किने देखिएको छ। दर्शकको रोजाइ कसले जित्छ भन्ने विषय अब प्रदर्शनपछिको व्यापारले तय गर्नेछ।











