काठमाडौं । नेपालको विज्ञापन एजेन्सी सङ्घ (आन) ले ‘कृति अवार्ड्स २०८३’ का लागि रचनात्मक विज्ञापन तथा सञ्चार सामग्री दर्ता गर्न आह्वान गरेको छ। नेपाली विज्ञापन, मार्केटिङ र सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जनात्मक काम गर्ने एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको हो।
कृति अवार्ड्सको १३ औँ संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रमा सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रमुख मञ्चका रूपमा पहिचान बनाएको आनका महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो।
यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायत ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइने भएको छ।
तीन नयाँ क्षेत्रसहित २४ नयाँ विधा
आनका अध्यक्ष सुदीप थापाका अनुसार यस पटक सिर्जनात्मकतालाई थप व्यापक बनाउन विभिन्न नयाँ विधा समावेश गरिएको छ। डिजिटल, इभेन्ट्स र इन्टेग्रेटेड गरी तीन नयाँ क्षेत्रसहित २४ वटा नयाँ विधा थप गरिएको उहाँले बताउनुभयो।
नयाँ संरचनासँगै विज्ञापन तथा मार्केटिङ क्षेत्रमा भइरहेका आधुनिक र प्रविधिमैत्री सिर्जनात्मक अभ्यासलाई पनि अवार्ड प्रक्रियामा समेट्ने प्रयास गरिएको आयोजकले जनाएको छ।
मूल्याङ्कनका लागि जुरी गठन
अवार्डका लागि प्राप्त सिर्जनात्मक कामको मूल्याङ्कन गर्न काठमाडौँ विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी तथा वरिष्ठ मार्केटिङ विज्ञ रवीन्द्रमान श्रेष्ठ क्षेत्रगत विशेषज्ञका रूपमा रहनुभएको छ।
२०८० वैशाखदेखि २०८३ असारसम्मका कामले प्रतिस्पर्धा गर्न पाउने
आनका अनुसार यस वर्षको कृति अवार्ड्सका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्य दर्ता गराउन सक्नेछन्।
आयोजकले नेपाली विज्ञापन, ब्रान्डिङ, डिजिटल मार्केटिङ तथा एकीकृत सञ्चार अभियानमा सक्रिय एजेन्सी र ब्रान्डलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ।











