१२ भाद्र २०८३, शुक्रबार
Follow us :

बाढी–पहिरोले देशभरका सडक प्रभावित, यात्रा अघि जानकारी लिन आग्रह

कान्तिपुर प्रेस

काठमाडौँ, भदौ १२ गते। अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरणअनुसार काठमाडौँ उपत्यका जोड्ने मुख्य सडकसहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा सवारी आवागमन अवरुद्ध तथा प्रभावित भएको छ।

बाढीको सम्भावित जोखिमका कारण काठमाडौँको नागढुंगा–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा जोड्ने सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा–भीमफेदी–बागमती–ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण अवरुद्ध रहेको छ। रसुवाका अन्य मुख्य सडकमा समेत जोखिमका कारण सवारी सञ्चालन प्रभावित भएको छ।

पृथ्वी र मुग्लिन–नारायणगढ सडक पनि प्रभावित

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङका विभिन्न क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ भने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।

यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ मा पर्ने जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण अवरुद्ध भएको छ। प्रहरीले वर्षाका कारण सडकमा जुनसुकै बेला बाढी, पहिरो र कटानको जोखिम हुन सक्ने भन्दै यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

१२ भाद्र २०८३, शुक्रबार ०७:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०