१२ भाद्र २०८३, शुक्रबार
Follow us :

बाढी प्रभावित क्षेत्रमा जानुअघि सरकारी संयन्त्रसँग समन्वय गर्न अपिल

राहतका नाममा बढेको भीडले उद्धारमा असर

कान्तिपुर प्रेस

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धारका लागि जान चाहने व्यक्ति तथा संस्थालाई सरकारी निकायसँग पूर्वसमन्वय गर्न अपिल गरेको छ।

शुक्रबार सचिवालयले सार्वजनिक गरेको नोटमा पूर्वसमन्वयबिना राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप सिर्जना भएको जनाएको छ। यसले राहतदातासँगै उद्धार तथा उपचारमा खटिएका टोलीको सुरक्षामा समेत जोखिम बढाएको सचिवालयको भनाइ छ।

सचिवालयका अनुसार प्रभावित क्षेत्रमा पूर्वतयारीबिना पुग्दा विषम भूगोल र जोखिमपूर्ण अवस्थाका कारण स्वयं राहतदाताको सुरक्षामा समेत चुनौती थपिएको छ। साना निजी सवारीसाधनमार्फत थोरै–थोरै राहत सामग्री लिएर जाने क्रम बढ्दा सडकमा ट्राफिक जाम भएको र आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सले समेत सहज बाटो पाउन नसकेको बताइएको छ।

त्यसैगरी, नेपाल सरकारका उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न कठिन भइरहेको सचिवालयले जनाएको छ।

अब राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्नुपर्ने सचिवालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री प्रभावित स्थानसम्म पुर्‍याउने एकीकृत व्यवस्था मिलाउने बताइएको छ।

सचिवालयले सहयोग र सद्भावको भावनालाई सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत व्यवस्थित रूपमा राहत उपलब्ध गराउन आग्रह गरेको छ।

 

१२ भाद्र २०८३, शुक्रबार १२:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०