१५ भाद्र २०८३, सोमबार
Follow us :

बाढीपहिरोका कारण इलेक्ट्रोनिक्स प्रदर्शनी स्थगित

भदौ १९ देखि हुने कार्यक्रम अनिश्चित

कान्तिपुर प्रेस

काठमाडौं — आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ स्थगित गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी सञ्चालन गर्ने तयारी थियो। आयोजकले देशमा आएको विनाशकारी बाढीपहिरोका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको तथा देश शोक र कठिन परिस्थितिबाट गुज्रिरहेका बेला व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नहुने आयोजकको भनाइ छ। राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील अवस्था र नेपाल सरकारको सुरक्षा सचेतनालाई समेत निर्णयको आधार बनाइएको आयोजकले जनाएको छ।

त्यस्तै, भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सुरक्षा सल्लाहलाई पनि आयोजकले ध्यानमा राखेको छ। सहभागी, प्रदर्शक तथा आगन्तुकको सुरक्षा र यात्राको सहजतालाई प्राथमिकतामा राख्दै हाललाई कार्यक्रम स्थगित गरिएको हो।

देशको अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति घोषणा गरिने आयोजकले जनाएको छ। नयाँ मिति र कार्यक्रमसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।

प्राकृतिक विपत्तिका कारण प्रदर्शनी स्थगित गर्नुपरेकोमा आयोजकले सहभागी, प्रदर्शक तथा आगन्तुकसँग क्षमासमेत मागेको छ।

१५ भाद्र २०८३, सोमबार ०९:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०