१५ भाद्र २०८३, सोमबार
Follow us :

नाइमाले बाढीपीडितका लागि ५० लाख दिने

प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा

कान्तिपुर प्रेस

काठमाडौं — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले विपद् सुरु भएदेखि नै आफ्ना सदस्य कम्पनीहरू आर्थिक सहयोग, यातायात तथा लजिस्टिक व्यवस्थापनमार्फत उद्धार र राहत कार्यमा सक्रिय रहेको जनाएको छ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को कठिन अवस्थामा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताइन्। उनका अनुसार सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सकिन्छ।

‘यस्तो कठिन समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापना प्रभावकारी बनाउन सक्छ,’ वैद्यले भनिन्, ‘सहयोग र सहकार्यका लागि तत्परता देखाउनुभएका सम्पूर्ण सदस्य कम्पनीप्रति धन्यवाद छ।’

नाइमाले आफ्नो स्थापनाकालदेखि नै प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको स्मरण गराएको छ। पछिल्लो बाढीपछि पनि सदस्य कम्पनीहरू विभिन्न माध्यमबाट उद्धार तथा राहतमा संलग्न हुँदै आएको संस्थाको भनाइ छ।

नाइमाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने जनाएको छ।

१५ भाद्र २०८३, सोमबार ०९:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०