सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ बिन्दुमा कायम भएको छ। आजको कारोबारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ। चार कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। यस दिन शेयर बजारमा कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार दोहोरो अंकले घटे पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको शेयर मूल्य १३.१६ प्रतिशतले बढेको छ। त्यसैगरी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले ७.५७ प्रतिशत र एनआईसी एसिया डिबेन्चर २०९१ का लगानीकर्ताले ६.०१ प्रतिशतले कमाएका छन्।
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.०३ प्रतिशत तथा नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन्। समग्रमा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा बजार परिसूचकमा दबाब परेको हो।












