काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय भएको बताएका छन्।
सोमबार सेतोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले प्रभावितको वास्तविक अवस्था र आवश्यकताबारे बढी जानकारी हुने बताए। त्यसैले संघ र प्रदेश सरकारले मात्रै राहत वितरण गर्नुभन्दा स्थानीय तहलाई प्रभावकारी बनाएर अघि बढ्ने निर्णय गरिएको उनको भनाइ छ।
उनका अनुसार संघीय सरकारले राहत संकलन तथा समन्वय गर्ने, प्रदेश सरकारले आवश्यक सहयोग गर्ने र स्थानीय सरकारले प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरी तीनै तहका सरकारबीच समन्वय गरेर काम गर्ने निर्णय भएको छ।
बाढीपछि उद्धार, उपचार, राहत तथा पुनर्निर्माणका काममा पनि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने सहमति भएको मुख्यमन्त्री थापाले बताए। यस विषयमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत छलफल भएको उनले जानकारी दिए।
‘तीन तहका सरकारका बीचमा तेरो–मेरो नभनी हाम्रो भनेर काम गर्ने कुरा भएको छ। आफ्नो अधिकार क्षेत्रमा रहेर सबैले जिम्मेवारी पूरा गर्ने भन्ने छ,’ उनले भने।
मुख्यमन्त्री थापाले अब राहतको अभावमा कोही पनि बस्नुपर्ने अवस्था आउन नदिने दाबी गरे। राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने व्यक्ति तथा संस्थाले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्रै वितरण गर्न पनि उनले आग्रह गरे।
बाढीपीडितको व्यवस्थापनका लागि नुवाकोटमा सात र धादिङमा तीनवटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको उनले बताए। गोसाइँकुण्ड पुगेका मानिसहरू समेत अलपत्र परेकाले उनीहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए।
बाढीपछि नुवाकोट र रसुवाका स्थानीय आफन्तको खोजीमा धादिङ तथा चितवन पुगेको र बाहिरका मानिस पनि आफन्त खोज्दै प्रभावित क्षेत्रमा आउने क्रम जारी रहेकाले भीड बढेको मुख्यमन्त्री थापाले बताए।
उनका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती शव व्यवस्थापन बनेको छ। बाढीबाट भएको क्षति प्रदेश सरकारको क्षमताभन्दा ठूलो भएकाले शव व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए।
‘कल्पना गरेभन्दा बाहिर र प्रदेश सरकारको क्षमताभन्दा ठूलो दुर्घटना भएकाले शव व्यवस्थापनमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘आफन्तले खोजेको बेलामा दिन मिल्ने गरी शव व्यवस्थापन गरिएको छ।’
मुख्यमन्त्री थापाले सिंगो प्रदेश सरकार बाढी आएको पहिलो दिनदेखि नै उद्धार, उपचार तथा राहत व्यवस्थापनमा निरन्तर खटिरहेको दाबी गरे। छहरे हुँदै रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा आएपछि राहत तथा उद्धारमा केही सहज भएको उनले बताए।
छहरे–चौहडा–नाम्चे हुँदै धुन्चे पुग्ने वैकल्पिक सडक सञ्चालनमा आएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनको भनाइ छ। चारवटा बढी प्रभावित पालिकामा राहत वितरणका लागि प्रदेश सरकार परिचालित भएको उनले बताए।
तर, सडक तथा पुल अवरुद्ध हुँदा कतिपय स्थानमा राहत सामग्री पुर्याउन समस्या भइरहेको छ। बाढीका कारण करिब ४० वटा पुल बगेकाले कतिपय क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउनुपर्ने अवस्था रहेको मुख्यमन्त्री थापाले जानकारी दिए।











