२२ भाद्र २०८३, सोमबार
Follow us :

सप्तकोशीमा पानीको बहाव दुई लाख क्युसेक नाघ्यो, कोशी ब्यारेजका २४ ढोका खोलिए

कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ।

कान्तिपुर प्रेस

काठमाडौं — पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।

सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरेको मापनअनुसार कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ। पानीको बहाव बढ्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ५२ मुख्य र नहरतर्फका चार गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

सप्तकोशीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको तथा रातो झण्डा फहराइएको प्रहरीले जनाएको छ। नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बढ्दो पानीको बहावका कारण नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानतर्फ जान तयार रहन अनुरोध गरेको छ।

लगातार वर्षा भइरहेकाले सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै सम्बन्धित निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरेका छन्।

सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेज तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ।

सप्तकोशीको बहावमा आएको वृद्धि र ब्यारेजका ढोका खोलिएपछि तटीय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा तथा विपद् व्यवस्थापन निकायलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

 

२२ भाद्र २०८३, सोमबार १४:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०