काठमाडौँ । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले एक करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरू सहभागी थिए।
केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोसी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
महामन्त्री पौडेलले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई रकम उपलब्ध गराइएको बताए। उनले संकटको समयमा कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको उल्लेख गरे।
पौडेलले बाढीपहिरोका कारण सुरुङलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत चिन्ता व्यक्त गरे। उनले सुरुङमा फसेका तथा अलपत्र नागरिकको उद्धार तत्काल तीव्र बनाउन सरकारसँग आग्रह गरे।
त्रिशूली र भोटेकोसी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउनुपर्ने उनको भनाइ छ। साथै उनले राहत वितरणमा पारदर्शिता कायम गर्न र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेसले विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।











