काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १८.०७ अंकले बढेर २ हजार ५६०.४९ अंकमा पुगेको छ। योसँगै नेप्से लगातार चौथो कारोबार दिन हरियो अंकमा बन्द भएको हो। अघिल्लो कारोबार दिन नेप्से ४.६६ अंकले बढेको थियो।
सोमबार बजारमा उतारचढाव भने न्यून देखियो। कारोबारका क्रममा नेप्से न्यूनतम २ हजार ५४२ अंकसम्म झरेको थियो भने अधिकतम २ हजार ५६५ अंकसम्म पुगेको थियो। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। आइतबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
सोमबार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको घट्यो भने चार कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ। बाढीपछि प्रभावित बनेको यस समूहका कम्पनीको मूल्य केही घटिसकेकाले लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।
त्यस्तै बैंकिङ समूह १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशतले बढेका छन्। व्यापार ०.०९ र फाइनान्स समूह ०.४३ प्रतिशतले घटेका छन्।
सोमबार पियोर इनर्जीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ। गणपति लघुवित्त, श्रीनगर एग्रिटेक, कालिका लघुवित्त र सागर डिस्टिलरीको मूल्य पनि उल्लेख्य बढ्यो।
यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल, सुपरमादी, शिवम् सिमेन्ट, रिडी पावर, नबिल बैंक र सिद्धार्थ बैंक अगाडि रहे।











