२२ भाद्र २०८३, सोमबार
Follow us :

नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने

५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद लाभांश प्रस्ताव

कान्तिपुर प्रेस

काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ। उक्त रकममा लाभांशमा लाग्ने करसमेत समावेश छ।

त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसका लागि २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ छुट्याइएको छ। बैंकका अनुसार उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट २१३ दिनका लागि समानुपातिक रूपमा गणना गरिएको हो।

बैंकको अग्राधिकार शेयरतर्फ चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र साधारण शेयरतर्फ २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ रहेको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा र दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई प्रतिफल दिने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। नबिल बैंकले हाल देशभर २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

 

२२ भाद्र २०८३, सोमबार १६:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०