७ आश्विन २०८३, बुधबार
Follow us :

खानपान तथा आहारविहारमा पर्याप्त ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या बढिरहेको सरोकारवालाहरुको भनाई

कान्तिपुर प्रेस

ललितपुर, ७ असोज : खानपान तथा आहारविहारमा पर्याप्त ध्यान नदिँदा नेपालीहरुमा स्वास्थ्यसम्बन्धी समस्या बढिरहेको सरोकारवालाहरुको भनाई रहेको छ।

वर्डभिजनसंगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघद्वारा मंगलबार यहाँ आयोजित चाडवाडको खानपान र पोषणको सवालमा बहुसरोकारवालबीच छलफल कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले चाडपर्वका बेला अत्यधिक चिल्लो, गुलियो तथा नुनिलो खानेकुराको सेवनलाई प्राथमिकता दिने प्रचलनका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको बताउनुभयो।

“हाम्रो धर्म र संस्कृति, चाडपर्वको सभ्यताले वैज्ञानिक महत्त्वलाई उजागर गरेको छ, तर हामीले आफूअनुकूल व्याख्या गर्ने र अव्यवहारिक जीवनशैली अपनाउने पद्धतिका कारण खानपान र आहारविहारमा समस्या हुँदै आएको छ, पश्चिम नेपालमा दूध बेचेर रक्सी खाने तथा हरियो साग बेचेर सुकाइएको सिन्की खाने अभ्यास छ, यस्ता खानपानका व्यवहारमा सुधार ल्याउन आवश्यक छ।” उहाँले भन्नुभयो।

उहाँले विकासका नाममा सडक र भवन निर्माणलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिको जानकारी गराउँदै नागरिकले जनप्रतिनिधिसँग विकाससँगै त्यसको दिगोपना र सुरक्षाको प्रत्याभूति समेत माग गर्नुपर्ने बताउनुभयो। स्थानीय उत्पादन र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले किसानलाई कृषि सामग्री ढुवानीमा प्रतिकिलो पाँच रुपैयाँ अनुदान दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो। खाद्य सुरक्षा र पोषण स्वास्थ्यलाई ध्यान दिँदै स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो।

नगरपालिकाले मासु र अण्डा उत्पादनमा समेत आत्मनिर्भरतातर्फ अघि बढिरहेको भन्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै स्वस्थ तथा पोषणयुक्त खानपानको अभ्यास विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अनुसन्धानविद् कुन्दन आचार्यले विद्यार्थीका लागि उपलब्ध गराइने दिवा खाजा नै पोषणमैत्री हुन नसकेको बताउनुभयो। विद्यालयका अगाडि तथा आसपासमा बिक्री हुने जंक फुडले बालबालिकाको खानपानमा असर पारिरहेको र त्यसबाट अभिभावकसमेत प्रभावित हुने गरेको उहाँको भनाइ थियो।

आचार्यले स्थानीय तथा रैथाने खानेकुरालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै इनर्जी ड्रिङ्क्स, जंक फुडले समाज, स्वास्थ्य र शरीरमा नकारात्मक असर पारिरहेको भन्दै स्वास्थ्यसम्बन्धी विषयमा अप्रमाणित विज्ञापनले उपभोक्तालाई प्रभावित पारिरहेको बताउनुभयो।

पशु चिकित्सा परिषद्का अध्यक्ष डा. हिम अवस्थीले मासु प्रोटिनको राम्रो स्रोत भएकाले दैनिक भोजनमा स्वच्छ र सफा मासु समावेश गर्न सकिने बताउनुभयो। सुरक्षित बधशालाबाट स्वच्छ र व्यवस्थित तरिकाले तयार गरिएको मासु मात्रै उपयोग गर्नुपर्ने भन्दै उहाँले चाडपर्वका समयमा उपयोग हुने मासुको गुणस्तरमा ध्यान नदिई अस्वस्थकर मासु उपयोग गर्दा रोगका टक्सिन उत्पन्न भएर खाद्य विषाक्तता हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो। डा. अवस्थीले मासु उपयोग गर्ने मानिसको आनीबानी र व्यवहारमा सुधार आवश्यक रहेको बताउँदै छालारहित मासु वैज्ञानिक हिसाबले उपयोगका लागि उपयुक्त हुन्छ भन्नुभयो।

पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै तीनै तहका सरकारले कानुनी व्यवस्थापन तथा सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका सदस्य मनोज थापाले नेपालमा सन् १९८० अर्थात् २०३७ सालदेखि पोषणसम्बन्धी कार्यक्रम लागू हुँदै आएको उल्लेख गर्दै नेपालीहरू खान नपाएरभन्दा पनि खान नजानेर विभिन्न रोगको सिकार हुने गरेको बताउनुभयो। जंक फुडको बढ्दो प्रयोगले धेरै नेपालीले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको धारण राख्नुभयो ।

धार्मिक गुरु अच्युत सुवेदीले चाडपर्वमा विधिपूर्वक सरसफाइ गरेर खाने परम्परा धार्मिक संस्कृतिसँग जोडिएको बताउँदै चाडपर्वको धार्मिक परम्परालाई सधैँ मासु खाने परम्पराका रूपमा बुझ्न नहुने उहाँको भनाइ थियो।

क्रिश्चियन धर्मका अगुवा रुविन पाख्रिनले मासु खाँदा पनि रगत नखानु भन्ने धार्मिक मान्यता रहेको बताउँदै मानिसले आफ्नो इच्छाअनुसार स्वाद र सन्तुष्टिका लागि मासु खान थालेको धारणा राख्नुभयो।

अर्का धार्मिक गुरु रामचन्द्र भण्डारीले मानिसले कुन वातावरणमा खाना खान्छ भन्ने कुराले पनि खानपान र पोषणमा प्रभाव पार्ने बताउँदै समय, स्थान र वस्तुको शुद्धताले समेत खानपानमा भूमिका खेल्ने र आहारविहारअनुसार पोषणमा निर्भरता रहने बताउनुभयो।

महिला हिंसाविरुद्ध अन्तरधार्मिक सञ्जाल (निरन नेपाल)का संस्थापक अध्यक्ष केशवप्रसाद चौलागाईंले स्थानीय सरकारलाई स्वच्छता र खाद्य सुरक्षाप्रति जिम्मेवार बनाउनुपर्ने बताउनुभयो। उपभोक्ताको सरोकारलाई केन्द्रमा राखेर खानपान, खाद्य स्वच्छता र पोषणका विषयलाई हेर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले चाडपर्वमा परम्परा र संस्कृतिको संरक्षणसँगै स्वस्थ खानपान, खाद्य स्वच्छता, पोषण तथा उपभोक्ता सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यालय, बजार, स्थानीय सरकार र घरपरिवारबाटै स्वस्थ तथा पोषणयुक्त खानपानको अभ्यास प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।—

७ आश्विन २०८३, बुधबार १४:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०