११ आश्विन २०८३, आईतवार
Follow us :

भारी वर्षापछि देशभरका मुख्य राजमार्ग अवरुद्ध

दर्जनौँ सडकखण्डमा यातायात प्रभावित

कान्तिपुर प्रेस

काठमाडौं । लगातार परेको अविरल भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ। वर्षाका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रसुवाको पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवा–नुवाकोट सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गरिएको प्रहरीले जनाएको छ।दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङ–गनाहा खोला क्षेत्र, शहीद मार्गअन्तर्गत घोराही–होलेरी र घोराही–मुर्कुटी सडकखण्ड तथा तुलसीपुर–सुर्खेत सडकखण्डको तुलसीपुर–कालिमाटी क्षेत्र अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, धादिङको पृथ्वीराजमार्ग, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग, मनाङको चामे–बेँसीसहर सडकखण्ड, गुल्मीको सिस्नेभिर–रुद्रबेनी–वामीटक्सार सडकखण्ड र बागलुङको मध्यपहाडी लोकमार्गमा समेत यातायात प्रभावित भएको छ।

प्रहरीका अनुसार कालिकोटको कर्णाली राजमार्ग, काभ्रेको अरनिको राजमार्ग, सल्यानको राप्ती राजमार्ग, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड तथा मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डमा समेत अवरोध भएको छ।

दाङको तुलसीपुर–घोराही सडकखण्ड, मुस्ताङको जोमसोम–कोरला सडकखण्ड, डोटीका विभिन्न सडक, हुम्लाको कर्णाली करिडोर तथा नवलपरासी पूर्व र पाल्पातर्फका कालीगण्डकी करिडोरमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी दार्चुलाको महाकाली राजमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर, पाल्पाको सिद्धार्थ राजमार्ग, अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे, ललितपुरको कान्तिलोकपथ, पर्वतको मध्यपहाडी लोकमार्ग, लमजुङको बेँसीसहर–मनाङ तथा स्याङ्जा र तनहुँका सिद्धार्थ राजमार्ग तथा पृथ्वीराजमार्गमा समेत सडक अवरोध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जाने क्रम बढेकाले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र सम्बन्धित निकायको सूचना पालना गर्न प्रहरीले आग्रह गरेको छ।

 

११ आश्विन २०८३, आईतवार १३:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०