काठमाडौँ ।टर्कीमा आयोजना हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा नेपालका तर्फबाट ‘क्रिएसन नेपाल’ ले ‘जिरो वेस्ट’ (शून्य फोहोर) शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गर्ने भएको छ।
नोभेम्बर ९ देखि २० तारिखसम्म सञ्चालन हुने उक्त विश्व सम्मेलनअन्तर्गत आगामी ११ नोभेम्बरमा क्रिएसन नेपालले साइडलाइन छलफल आयोजना गर्न लागेको संस्थाकी महासचिव रोशना सुवेदीले जानकारी दिइन्।
यस पटकको कोप-३१ ले तय गरेका मुख्य एजेन्डाहरूमध्ये ‘जिरो वेस्ट’ लाई प्राथमिकताको दोस्रो स्थानमा राखिएको छ, जसले फोहोरमैला व्यवस्थापन र यसले जलवायु परिवर्तनमा पार्ने गम्भीर असरबारे विश्वको ध्यानाकर्षण गराएको छ।
नेपालको आफ्नै राष्ट्रिय पेभिलियनमा सञ्चालन हुने उक्त संवादमा नेपाल सरकारका प्रतिनिधि, फोहोरमैला सफाइकर्मी एलायन्स, दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (SACEP) लगायतका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, चक्रीय अर्थतन्त्र (Circular Economy) तथा फोहोर व्यवस्थापन क्षेत्रका विज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ। कार्यक्रमको सहजीकरण क्रिएसनकी महासचिव रोशना सुवेदी स्वयम्ले गर्नेछिन्।
उक्त छलफलमा विभिन्न देशका स्थानीय अभ्यास, नीतिगत अनुभव, सामुदायिक फोहोरमैला व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोर प्रशोधन, पुनर्चक्रण र हरित उद्यमशीलताका विषयमा गहन विचार-विमर्श हुनेछ।
कोपको इतिहासमै पहिलो पटक नेपालले आफ्नै राष्ट्रिय पेभिलियनमार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण र दिगो विकासका मुद्दामा अन्तर्राष्ट्रिय संवाद सञ्चालन गर्ने अवसर पाएको छ, जसलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले विश्वमञ्चमा ‘जिरो वेस्ट’ जस्तो संवेदनशील र समसामयिक विषयमा छलफलको नेतृत्व पाउनु क्रिएसन र सिंगो नेपालका लागि ऐतिहासिक एवं सुनौलो अवसर भएको बताएका छन्।











