३० कार्तिक २०८३, सोमबार
Follow us :

होर्मुज जलमार्गबाट मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको दबाब

फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको छ ।

कान्तिपुर प्रेस

काठमाडौं । संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानसँग आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढ्नुका साथै कृषि उत्पादन र खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै राष्ट्रसंघले दुवै देशलाई मल बोकेका जहाजको आवागमन सहज बनाउन आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले शनिबार मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताएका छन् ।

उनका अनुसार फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको छ ।

युद्धअघि विश्वभर आपूर्ति हुने कुल रासायनिक मलमध्ये करिब एकतिहाइ होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । तर, उक्त जलमार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रभावित भएको हो ।

डा सिल्भाले खेतीपातीको मौसममा आवश्यक मल उपलब्ध हुन नसके विश्वभर थप ४ करोड ५० लाख मानिस गम्भीर खाद्य असुरक्षाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै, करिब ३ करोड मानिस गरिबीमा धकेलिन सक्ने उनको भनाइ छ ।

मल आपूर्ति सहज बनाउन होर्मुज जलमार्गबाट दैनिक कम्तीमा पाँचवटा मल बोकेका जहाजलाई आवागमनको अनुमति दिनुपर्ने उनले बताएका छन् । राष्ट्रसंघले यसअघि विकास गरेको संयन्त्र प्रयोग गरेर मल ढुवानी पुनः सुरु गर्न सकिने र त्यसका लागि ७ देखि १० दिन पर्याप्त हुने पनि उनले उल्लेख गरेका छन् ।

मल आपूर्तिमा देखिएको अवरोध तत्काल हटाउन सके कृषि उत्पादनमा पर्ने असर कम गर्न र सम्भावित विश्वव्यापी खाद्य संकट रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

 

२९ कार्तिक २०८३, आईतवार ११:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०