काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । उनले छठ पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सकारात्मक सोचलाई बलियो बनाउँदै सुशासन, सामाजिक न्याय तथा समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धि ल्याउने कामना गरेका हुन् ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशको अन्त्य मैथिली भाषामा समेत गरेका छन् । उनले ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भन्दै सबैको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
उनले छठलाई प्रकृति र आस्थासँग जोडिएको महान् पर्वका रूपमा व्याख्या गर्दै यसले जीवनको गहिरो दर्शनसमेत सिकाउने बताएका छन् । उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत उल्लेख गरेका छन् । उनका अनुसार पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको छ ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छठ पर्वले नेपाली समाजमा आपसी एकता र सद्भाव थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशको अन्त्य मैथिली भाषामा समेत गरेका छन् । उनले ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भन्दै सबैको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।











