काठमाडौं : लोकआस्था र धार्मिक विश्वासको महापर्व छठ आज मुख्य दिनमा प्रवेश गरेको छ। कार्तिक शुक्ल षष्ठीका अवसरमा आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएर पूजा आराधना गर्दैछन्। सूर्यदेवको उपासना, आराधना र पूजाका रूपमा मनाइने चारदिने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो।
छठ पर्वका अवसरमा राजधानीसहित देशका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयका किनारमा पूजाका लागि विशेष सजावट गरिएको छ। काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमती नदी किनारमा छठ पूजाको तयारी गरिएको छ।
छठ पर्वको मुख्य दिन व्रतालुहरू कठोर निराहार व्रत बस्ने गर्छन्। साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम बसेर भोलिपल्ट कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि विधिपूर्वक पूजा सम्पन्न गरी व्रत तोड्ने परम्परा छ।
गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम बसेर सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन हुन्छ।
छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्वसमेत उत्तिकै रहेको छ। महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डव अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेको प्रसंगसँग छठ पर्वको परम्परालाई जोड्ने गरिन्छ। लोककथनअनुसार त्यसै समयदेखि छठ मनाउने परम्परा सुरु भएको मानिन्छ।
त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ। पुराणमा सूर्यको आराधनाबाट कुष्ठरोगबाट पीडित साम्ब रोगमुक्त भएको प्रसंगसमेत उल्लेख गरिएको छ।
छठ पर्वमा सूर्यदेवलाई प्रसन्न पार्न विभिन्न फलफूल तथा प्रसाद चढाउने गरिन्छ। विशेषगरी झुप्पा–झुप्पा फल चढाउँदा परिवार र सन्तानको कल्याण हुने धार्मिक विश्वास छ। छठ व्रत बस्दा दुःख, दरिद्रता तथा रोगव्याधिबाट मुक्ति मिल्ने जनविश्वास पनि रहिआएको छ।
छठको विधि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ। पहिलो दिन स्नान गरी चोखो भोजन गर्ने परम्परा छ। दोस्रो दिन पञ्चमीमा सखर मिसाएर बनाइएको खीर अर्थात् खरना षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ। त्यसपछि व्रतालुहरू निराहार व्रतमा बस्छन्।
धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोगबाट बच्न सकिन्छ। सूर्यको किरणलाई जीवन र समस्त भौतिक विकासको आधार मान्दै यस पर्वमा सूर्यदेवको विशेष आराधना गरिन्छ।
एक समय तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले पछिल्लो समय राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। विसं २०४६ देखि सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिन थालेकोमा बीचका केही वर्ष बिदा कटौती भए पनि पुनः सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
आस्था, अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले सामाजिक सद्भाव र पारिवारिक एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।











